काठमाडौं, १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ५ गतेभित्र निर्वाचन भइसक्ने बताएका छन् । सोमबार साँझ प्रधानमन्त्री देउवालाई भेट्न सरकारी निवास बालुवाटारमा बागमती प्रदेशको पदाधिकारीसहितको टोली पुगेको थियो ।

उक्त टोलीलाई देउवाले जेठको पहिलो हप्ताभित्र चुनाव गर्ने र त्यसको तयारीमा जुट्नका लागि भनेका हुन् ।

बागमती प्रदेशका सभापति इन्द्र बानियाँका अनुसार देउवा जेठ ५ भित्र चुनाव गराउनेमा क्लिएर छन् । बानियाँले भने, ‘जेठको पहिलो हप्ताभित्र स्थानिय तहको सबै चुनाव सकिसक्ने भन्ने कुरामा प्रधानमन्त्री क्लिएर हुनुहुन्छ ।’

भेटमा भएको छलफलको बारेमा जानकारी दिँदै बानियाँले भने, ‘प्रधानमन्त्रीज्यूसँग हिजो भेट भएको थियो । जेठको पहिलो हप्ताभित्र स्थानिय तहको चुनाव सम्पन्न गरिसक्ने प्रधानमन्त्रीज्यूले हामीलाई भन्नुभयो । चुनावको लागि तयार हुनुस् भन्नुभएको छ । बागमती प्रदेशको पदाधिकारीसहितको टोली भेट्न गएका थियौं । तपाईंहरु तयारी हुनुस् निर्वाचन जेठको पहिलो साताभित्र गरिसक्ने गरी हामी तयारी गरिरहेका छौं भन्नुभयो ।’

उनले देउवासँगको भेटको ब्रिफिङ गर्दै भने, ‘संगठनिक संरचना विधान बमोजिम अनुसार बन्यो । अब प्रदेशको काम कर्तव्य र अधिकार विधानले तोकेबमोजिम प्रयोग गर्न पाइन्छ । आफ्नो अधिकार प्रयोग गरेर अगाडि बढ्नुस् । अब चुनाव हुन्छ । जेठको पहिलो हप्ताभित्र स्थानिय तहको सबै चुनाव सकिसक्ने भन्ने कुरामा प्रधानमन्त्री क्लिएर हुनुहुन्छ ।’

सत्तारुढ पाँच दलीय गठबन्धनको गत शनिबार बालुवाटारमा बसेको बैठकले स्थानीय तहको चुनाव आउँदो जेठ महिनाभित्र गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार देउवाले आफूलाई भेट्न पुगेका नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्नका लागि भनेका हुन् ।