जनकपुरधाम, १८ माघ । मधेस प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि अध्ययन तथा व्यवस्थापन समिति गठन गरेकाे छ ।

मंगलवार बसेकाे मन्त्रीपरिषद बैठकबाट सरकारले आफ्ना प्रशासनिक तथा आवासिय संरचना निर्माणका लागि भाैतिक पुर्वाधार विकासमन्त्री रामसराेज यादवकाे नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, उद्याेग, पर्यटन तथा वनमन्त्री शत्रुध्न महताे, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव र आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साह सदस्य रहेका छन ।

समितिले भवन सहितका स्थायी भाैतिक संरचना निर्माणका लागि जग्गा खाेजीदेखि प्राविधिक सहित बजेट स्रोत व्यवस्थापनसम्मकाे कार्य गर्ने अर्थमन्त्री साहले जानकारी दिए ।

समितिले नै विभिन्न प्राविधिक र अर्थविज्ञ सहितका व्यक्तिहरूलाई राखेर विज्ञ समिति गठन गर्नेछ । समितिले बुझाएको प्रतिवेदनकाे आधारमा सरकारले कार्य अगाडि बढाउने सरकारका प्रवक्ता समेत रहेका मन्त्री साहले बताए ।