घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने व्यापार संघको माग

जनकपुरधाम, १७ माघ । धनुषामा एक पेट्रोलियम कार्यालयका कर्मचारीमाथि कुटपिट गरिएको घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गरिएको छ ।
आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित निर्माणाधिन धनुषा आयल स्टोर्समा कार्यरत कर्मचारी नृपबहादुर राईलाई दुई जनाले कुटपिट गरेका थिए ।
घटनाको जनकपुरधाम उद्योग वाणिज्य संघले भत्र्सना गर्दै छानविनको माग गरेको छ । राईमाथि दिउँसै आक्रमण गरिएको भन्दै संघले प्रहरीको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ ।
संघले प्रचलित कानून बमोजिम दर्ता गरी संचालन गर्न लागेको व्यवसायिक प्रतिष्ठान संचालन हुनै नदिने मनसाय राखी व्यापारिक प्रतिष्ठानमा गैरकानूनी रुपमा प्रवेश गरी कर्मचारीमाथि निर्घात कुटपिट गरी घाइते बनाएकोमा शान्ति सुव्यवस्था कायम राख्न प्रहरी प्रशासन सक्षम नरहेको प्रमाणित भएको जनाएको छ ।
प्रहरी चौकी भन्दा २०० मिटरमात्र दुरी रहेको व्यवसायिक प्रतिष्ठानमा दिउँसै कर्मचारीमाथि कुटपिट भएको घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कडाभन्दा कडा कारवाही गर्न संघले माग गरेको छ ।
संघले घाइते राइलाई क्षतिपूर्तिसहित उपचार खर्च भराउन र शान्ति सुरक्षाको व्यवस्था कायम राख्न समेत स्थानीय प्रशासनसँग माग गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


