रेल्वे कम्पनीमा लगाएको ताला प्रहरीले तोडेपछि पुराना कर्मचारीहरू पुनः आन्दोलित

जनकपुरधाम, १७ माघ । जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा लगाएको ताला प्रहरीले तोडेपछि पुराना कर्मचारीहरू पुनः आन्दोलित भएका छन् ।
उनीहरूले लगाएको ताला प्रहरीले आज तोडेपछि उनीहरू पुनः आन्दोलित भएका हुन् ।
रेल्वे कर्मचारी संघर्ष समितिले शुक्रबार जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका थिए ।
उनीहरूले नेपाल रेल्वे कम्पनीद्वारा सञ्चालित तालिम बन्द गर्नुपर्ने, प्रहरी परिचालन गरेर सञ्चालन भईरहेको तालिम बन्द हुनुपर्ने, पुरानो तालिम प्राप्त कर्मचारीलाई बहाली गर्नुपर्ने, आफूहरूको पूरानो पारिश्रमिक भुक्तानी गर्नुपर्नेलगायतका माग राखेका छन् ।
सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत मञ्जय गोइतले भने,‘विगत करिव दुई हप्तादेखि धर्ना, प्रदर्शन गर्दै आए पनि सुनुवाइ नहुँदा बाध्य भएर आफूहरूले कार्यालयमा तालाबन्दी गरेका थियौं ।’
उनले आफूहरूले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएपनि समस्या समाधान गर्न आलटाल गरिरहेको दुखेसो सुनाए ।
महाप्रबन्धक झाले ५५ जना नयाँ कर्मचारीलाई नियुक्त गरी तालिम दिन थालेपछि पुराना कर्मचारी आन्दोलित भएका छन् ।
नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाइ जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासि सूचना निकालेर नवनियुक्त महाप्रबन्धक झाले हटाएपछि उनीहरूले आफूहरूलाई पुनः समायोजन गर्न माग गरेका छन् ।
पछिल्लो पटक सहायक स्टेशन मास्टरको तालिम लिएका इन्द्रजित गोइतले आफूहरूलाई कुनै जानकारी नै नदिई नवनियुक्त महाप्रबन्धक झाले आफूअनुकूलका पार्टीका कार्यकर्तालाई नियुक्त गरी तालिम दिन लागेको आरोप लगाए ।
उनले गोप्यरूपमा तालिम दिएर आफ्ना नजिकका व्यक्तिहरूलाई राख्नु आफूहरूका लागि असह्य रहेको समेत जिकिर गरे । उनले यसअघि आफूहरूले पनि एक महिनाको तालिम लिएको र आफूहरूको भुक्तानीसमेत बाँकी रहेको बताए ।
प्रबन्धक झाले कामै नगरी ज्यालादारी कर्मचारीले ज्याला पाउने कानुनी प्रावधान नरहेकोले उनीहरूलाई आफूले हटाएको स्वीकार गरे ।महाप्रबन्धक झाले गत भदौ १८ गते एक सूचना प्रकाशित गर्दै ज्यालादारीमा नियुक्त गरिएका सयौँ कर्मचारीलाई हटाएका थिए ।
रेल सञ्चालनको टुंगो नलागेको भन्दै पूर्व महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नियुक्त गरेका विभिन्न पदका १५१ जना ज्यालादारी कर्मचारीलाई नवनियुक्त महाप्रबन्धक झाले हटाएका थिए । उनले ज्यालादारी कर्मचारीलाई आफूखुसी हाजिरी नगर्न सूचना जारी गर्दै पदमुक्त गरेका थिए ।
जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो । गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल आए पनि चल्न नसकेपछि हाल धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित ईनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा रेल राखिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


