जनकपुरधाम, १७ माघ । करोडौं हिन्दुको आस्थाको केन्द्र रहेको मधेस प्रदेशको राजधानी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक स्थल जानकी मन्दिरसँगै रहेको विवाह मण्डपमा फेरि अश्लिल टिकटक भिडियो बनाउनेहरुको जमघट हुन थालेको छ ।

मन्दिरलाई एकातर्फ विश्व सम्पदा सूुचीमा सुचीकृत गराउने प्रयास भईरहेको छ भने अर्कोतर्फ मन्दिरको सौन्दर्य मास्ने खेल समेत चलिरहेको छ । मन्दिरको वातावरण अश्लिल टिकटक बनाएर बिगार्ने प्रयास हुँदै आईरहेको देखिएको छ ।

धार्मिक स्थलहरुमा अहिले युवाहरुको ठुलो जमात भोजपुरी अश्लिल गितहरुमा टिकटक बनाउने गरेको पाइएको छ । जनकपुरको प्रसिद्ध धार्मिक मन्दिरहरु जानकी मन्दिर,राम मन्दिर,विवाह मण्डपमा समेत भोजपुरी गितहरुमा टिकटक बनाउने गरिएको पाइएको छ ।

पछिल्लो पटक स्थानीय युवा गणेश साहले धार्मिक स्थलहरुमा टिकटक बनाउने व्यक्तिलाई पक्राउ गर्न स्थानीय प्रशासनसँग माग गरेपछि जानकी मन्दिर, विवाह मण्डप लगायतका ठाउँहरुमा स्थानीय प्रशासनले टिकटक बनाउन रोक लगाएको थियो । तर, केही महिना नबित्दै पुनः त्यहाँ टिकटकरहरुको भीड लाग्न सुरु भएको छ ।

पछिल्लो पटक mr_subhash_049 र sumit_049 नामक टिकटक आइडिबाट विवाह मण्डपमा चप्पल जुत्ता लगाएरै बिभिन्न भोजपूरी तथा हिन्दी गीतहरुमा केटाकेटीहरुले टिकटक बनाएर पोष्ट गरेको पाइएको छ । उनीहरुले धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरुको कुनै ख्याल नै नगरी अभद्र रुपमा टिकटक भिडियोहरु बनाएर लाईक र शेयरका लागि सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

स्थानीय प्रशासनले मन्दिर प्रांगण भित्र टिकटक भिडियो बनाउन नदिन भनेपनि प्रशासनले समेत भारा टार्ने हिसाबले मात्रै काम गरिरहेको स्थानीयको आरोप छ ।

‘प्रशासनले कडाई गरेको भए मन्दिर भित्रै टिकटक भिडियोहरु शुटिङ नै हुँदैन थियो,‘स्थानीय सुशील कर्णले भने । उनी भन्छन्,‘मन्दिरमा मान्छे दर्शन गर्न पुग्छन् न कि टिकटक भिडियो बनाउन । प्रशासनले प्रतिवद्धता जनाउनु बाहेक केही गर्न सकेको छैन, न कडा कारबाही नै अगाडी बढाएको छ ।’

स्थानीय युवा अनुज मिश्र भन्छन्,‘पर्यटकीय स्थल तथा सर्वसाधारणको भीड़भाड़ हुने ठाउँहरुमा मनोरञ्जनको नाममा केटाकेटीहरुले गरेको अश्लिल हर्कत गम्भीर अपराध हो, यस्ता केटाकेटीहरुलाई पक्राउ गरि उनको अभिभावकलाई बोलाएर यस्तो काम फेरी नगर्न प्रतिबद्धता गराउनु पर्दछ ।’