जनकपुरधाम, १६ माघ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले देशव्यापी रुपमा शुरुवात गरेको सप्ताहव्यापी रक्तदान अभियानअन्तर्गत आज जनकपुरधाममा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

कोरोना संक्रमणका कारण उत्पन्न रगत अभाव पूर्तिका लागि गत बुधबारदेखि देशव्यापी रुपमा रक्तदान अभियानको शुरुवात गरिएको हो ।

अभियानअन्तर्गत आइतबार युवा संघको धनुषा जिल्ला कमिटीद्वारा स्थानीय जनकचोकमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

बढ्दो रगत अभावलाई कम गर्ने उद्देश्यले अभियानको शुरुवात गरिएको बताइएको छ । अभियानअन्तर्गत रक्तदान कार्यक्रममा सहभागीलाई हौसला प्रदान गर्दै युवा संघका मधेस प्रदेश अध्यक्ष जानी खानले राम्रा कामका लागि सधैँ अगाडि बढ्न युवालाई शुभकामना दिए ।

उनले युवा रगत मात्रै नभई आवश्यक परे देशका लागि बलिदान गर्न तयार भएको र सधैँ सकारात्मक कामका लागि युवा संघ अगाडि बढ्ने बताए ।

जनकपुरधाममा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् ।