सीटीइभीटीविरुद्ध जनकपुरधाममा दोस्रो दिन पनि विद्यार्थीको प्रदर्शन

जनकपुरधाम, १६ माघ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)विरुद्ध विद्यार्थीहरुले जनकपुरधाममा आज दोस्रो दिन पनि प्रदर्शन गरेका छन् । परीक्षा स्थगित गरेको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका हुन् ।
सीटीइभीटीले परीक्षा स्थगित गरेको भन्दै विद्यार्थीले नगरक्षेत्रभित्र प्रदर्शन गरेका छन् । उनीहरुले वैकल्पिक विधिबाट परीक्षा हुनुपर्ने अथवा भौतिक उपस्थितीमा स्वास्थ्य मापदण्डको पालना गरी परीक्षा सञ्चालन गर्नुपर्ने, नभए आन्तरिक मूल्यांकनद्वारा नतिजा प्रकाशन गर्नुपर्ने माग गरेका छन् ।

सीटीइभीटीले विद्यार्थीको जीवनसँग खेलबाड गर्न नपाउने र समयमै परीक्षा हुनुपर्ने उनीहरूको माग छ । ३ वर्षको कोर्षलाई ५ वर्षसम्म पु¥याउनका लागि पटक–पटक परीक्षा स्थगित भइरहेको उनीहरूको आरोप छ ।
प्रदर्शनको क्रममा विद्यार्थीहरुले सडक अवरुद्ध गरी चक्काजाम गर्न खोज्दा स्थानीय मुरलीचोकमा प्रहरीले उनीहरुमाथि सामान्य बल प्रयोग समेत गरेका थिए ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको र परीक्षार्थीहरूको संख्या पनि बढी भएकोले सीटीइभीटीले परीक्षा स्थगित गरेको थियो ।
परिषद्ले माघ १५ गते बायोमेडिकलतर्फको प्रवेश परीक्षा र माघ २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो ।

परिषद्ले माघ २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


