बारा, १६ माघ । बारामा पार्किङ गरी राखिएको यात्रुबाहक बसमा अज्ञात समूहले आगजनी गरेका छन् ।

जिल्लाको कोल्हवी नगरपालिका–६ कुमरगढी गाउँमा पार्किङ गरी राखिएको ना ७ ख ३५३५ नम्बरको बसमा आगजनी गरिएको हो ।

स्थानीय शिक्षक तेजप्रकाश चौधरीको बसमा अज्ञात समूहले आगजनी गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

ग्रामीण भेगबाट वीरगञ्जसम्म सञ्चालन गरी सर्वसाधारणलाई सुविधा दिँदैआएको सो बसमा कसले र किन आगजनी गरेकोबारे आफूलाई कुनै जानकारी नभएको शिक्षक चौधरीले बताए ।

स्थानीय शिक्षक श्रीराम साहले छठीघाटमा पार्किङ गरी राखिएको बस केही पर गुडाएर सिसाहरू फुटाल्दै पेट्रोल छर्केर आगजनी गरिएको बताए । बसको सबै भाग पूर्णरुपले जलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले घटना कसले र किन गरेको भन्ने खुल्न नसकेको बताए ।आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।