सहिद दुर्गानन्दको ५९औं स्मृति दिवस मनाइयो

जनकपुरधाम, १५ माघ । नेपालका प्रथम गणतान्त्रिक सहिद दुर्गानन्द झाको ५९औं स्मृति दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
झाको स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस धनुषाका नेताहरुले उनको जन्मस्थल जटहीमा बिभिन्न कार्यक्रमको आयोजना गरेका हुन् ।
धिरेन्द्र कुमार निधिको अध्यक्षता एवम् पूर्व कृषिमन्त्री समेत रहेका नेपाली काँग्रसका केन्द्रिय सदस्य रामकृष्ण यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वक्ताहरुले उनको योगदानबारे चर्चा परिचर्चा गरेका थिए ।

झालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने उनीहरुको माग थियो । वक्ताहरुले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल र दशरथ चन्दजस्तै दुर्गानन्दलाई समेत सम्मान दिनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य स्मृति नारायण चौधरी, मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादव, जिल्ला सभापति महेश शंकर गिरी, जिल्ला सभापतिका प्रत्यासी योगेन्द्र पजियारलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

विसं १९९९ वैशाख १४ गते धनुषाको जटही गाउँमा जन्मिएका झालाई २०१८ माघ ९ गते राजा महेन्द्रमाथि बम प्रहार गरेको अभियोगमा २०२० माघ १५ गते मृत्युदण्ड दिइएको थियो ।
तत्कालीन सरकारले मृत्युदण्ड दिएका दुर्गानन्द झालाई ५२ वर्षपछि २०७२ फागुन १९ गते सहिद घोषणा गरिएको थियो ।
पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले पञ्चायत लादेको आक्रोशमा बम प्रहारको अपराधमा झाले फाँसीको सजाय पाएका थिए । उनको योगदानको संस्मरणमा जनकपुरमा हरेक वर्ष माघ १५ गते बलिदानी दिवस मनाइन्छ ।

दुर्गानन्द झा पण्डित भोलानाथका तीन छोरामध्ये जेठा देवनारायण झा र सुकुमारीदेवी झाको एकमात्र सुपुत्र थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


