काठमाडौं, १५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३१८ र ४ हजार ४६१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ५८६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने ५ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् ।

तेस्रो लहर सुरु भएका यता पहिलोपटक संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढी भएको हो । हालसम्म नेपालमा कूल संक्रमितमध्ये ८ लाख ४८ हजार ३६० जना संक्रमणमुक्त भइसकेका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या घटेर ८७ हजार ३२९ मा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ७०३ जनाले ज्यान गुमाइसकेका छन् ।

मन्त्रालयका अनुसार थप २ लाख ७२ हजार ७४८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । हालसम्म १ करोड ६५ लाख २७ हजार ७४१ जनाले पहिलो मात्रा, १ करोड ४० लाख १५ हजार ३२४ जनाले दोस्रो मात्रा र ३ लाख ३३ हजार ८३५ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ४०४, ललितपुरमा ३०५, कैलालीमा १२०, काभ्रेमा ११६, कास्की र चितवनमा ११५÷११५, भक्तपुरमा १११ र धनुषामा ९८ जनामा संक्रमण पुष्टि भएको छ ।