महोत्तरी, १५ माघ । महोत्तरीमा ३ महिनाको अवधिमा १९८ मुद्दामा १४९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांक अनुसार ३ महिनाको अवधिमा १९८ वटा मुद्दा दर्ता भएको हो । जसअन्तर्गत कात्तिकमा ५४, मंसिरमा ६७ र पुसमा ७७ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले भने,‘अनुसन्धानको क्रममा १४९ जनालाई पक्राउ गरिएको छ । त्यसमध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने ७३ जनालाई धरौटीमा छाडिएको छ ।’

तीन जना नाबालक भएकोले अभिभावकको जिम्मा लगाइएको, एक जनालाई बाल सुधार गृहमा लगिएको, ४७ जनालाई अनुसन्धानको क्रममा राखिएको र एक जना फैसला भएपछि फरार रहेको डीएसपी विष्टले जानकारी दिए ।

१९८ वटा मुद्दामध्ये अहिलेसम्म एक जनालाई फैसलापछि एक वर्ष एक महिना जेल सजाय र १ लाख १६ हजार रुपैयाँ जरिवाना गर्ने आदेशअनुसार कारवाही भईरहेको विष्टले बताए ।

जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामध्ये धेरैजसो लागुऔषध ओसारपसार तथा कारोबार कसुर र सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरका मुद्दा छन् ।

तीन महिनाको अवधिमा लागुऔषध ओसारपसार तथा कारोबारका ३० वटा र सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुरमा २८ वटा मुद्दा दायर भएको प्रहरीको तथ्यांक छ ।

जिल्लामा दर्ता भएका १९८ मुद्दामध्ये अहिलेसम्म ९४ वटा मात्र फर्छ्यौट भएको छ भने १०४ वटा मुद्दा अझै बाँकी रहेका छन् ।