गृहमन्त्री खाँणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग गरे टेलिफोन वार्ता

काठमाडौं, १५ माघ । गृहमन्त्री बालकृष्ण खाँणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरेका छन् ।
गृहमन्त्री खाँणले जिल्लाहरुमा कोभिड–१९ संक्रमण, शीतलहरको अवस्था र सरकारले गरिब तथा असक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा एवम् दाउरा वितरणबारे २० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरेका हुन् ।
शनिबार बिहान गृहमन्त्री खाँणले मनाङका प्रमुख जिल्ला अधिकारी रवीनन्द्र आचार्य, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल र सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीसँग टेलिफोन वार्ता गरेका छन् ।
त्यस्तै, मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेसँग पनि गृहमन्त्री खाँणले टेलिफोनमा कुरा गरेका छन् ।
खाँणले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाल, इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगाना, रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र पर्वतका प्रमुख जिल्ला अधिकारी पर्वतदेवी पाण्डे खत्रीसँग टेलिफोनमा कुराकानी गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जानकारी दिए ।
उनका अनुसार प्रमुख जिल्ला अधिकारीहरूबाट गृहमन्त्री खाणले जिल्लामा कोभिड–१९ संक्रमणको अवस्था, खोप लगाएकाको संख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएका छन् ।
सरकारले गत मंसिर एक गते नै रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शित लहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो । त्यो निर्देशनको कार्यान्वयनबारे पनि गृहमन्त्री खाणले चासो राखेका थिए ।
ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी तामाङले गृहमन्त्री खाणले टेलिफोनमा जिल्लामा कोभिड संक्रमणको अवस्था, त्यसलाई रोक्न खोप लगाउने कार्य, आइसोलेसन, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणको अवस्थाबारे जानकारी लिएको बताए ।
त्यस्तै, सीमा नाकाबाट आउने नागरिकमा कोभिडको संक्रमणबारे पनि मन्त्री खाणले जानकारी दिएका थिए ।
इलामका प्रजिअ ढुंगानाले सीमाबाट आएका नागरिकमा कोभिडको संक्रमणको अवस्था, निको हुनेहरूको दर, विद्यालय सञ्चालनबारेको अवस्था कस्तो छ भनेर मन्त्री खाणले जानकारी लिएको बताए ।
गोरखाका प्रजिअ आचार्य र रसुवाका प्रजिअ जैशीले हिमपातबाट बच्न नागरिकलाई न्यानो कपडा वितरण, कोभिड संक्रमणको अवस्था र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले टेलिफोनबाट जानकारी लिएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


