पर्सा, १५ माघ । वीरगञ्जमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी उपक्षेत्रिय अस्पतालमा उपचारत दुईजना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–५ की ६५ वर्षीया एक महिला र वीरगञ्ज महानगरपालिका–३ का ७३ वर्षीय एक पुरुष रहेका छन् ।

६५ वर्षीया महिलाको आज बिहान साढे ७ बजे र ७३ वर्षीय पुरुषको आजै बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि महिलालाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन परीक्षण गर्दा उनी कोरोना संक्रमित भएकी थिइन । ती महिलाले कोरोनाविरुद्ध खोपको दुवै डोज लगाएकी थिइन् ।

यस्तै नारायणी अस्पतालमै उपचारत वीरगञ्ज महानगरपालिका–३ का ७३ वर्षीय संक्रमित पुरुषको पनि आज बिहान मृत्यु भएको छ ।

अस्पतालको आइसियु कक्षमा भर्ना गरेर भेन्टिलेटर सपोर्टमा उपचार गर्ने क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सिंहले जानकारी दिए । ती पुरुषले पनि कोभिड विरुद्धको खोपको दुबै डोज लगाएका थिए ।

योसँगै तेस्रो लहरमा वीरगञ्जमा कोरोना संक्रमण मृतकको संख्या ६ पुगेको छ ।