जनकपुरधाम, १४ माघ । सरकारी दस्तखत छाप किर्ते गरी ठगी गर्ने एक युवक जनकपुरधामबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर–१ बस्ने सतार मियाका २५ वर्षीय छोरा शहादत राईन रहेका छन् ।

राईनमाथि सडक डिभिजन कार्यालय जनकपुरमा तीनजनालाई नक्कली नियुक्ति दिएर ठगी गरेको आरोप छ ।

राईनले स्थानीय १९ वर्षीय बबलु पासमान, २० वर्षीय पारस कुमार पासवान र दिपेश कुमार पासवनलाई सडक डिभिजन कार्यालय जनकपुरमा सुपरभाईजर पदमा जागिर दिने नाममा जनही २÷२ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले सडक डिभिजन कार्यालयको सुपरभाईजर पदको नियुक्ती पत्र, मासिक तलब र सो सम्बन्धि उम्मेदवारको सम्झौता पत्र सडक डिभिजनको लेटर प्याड तयार गरी सो प्याडमा सरकारी दस्तखत छाप किर्ते गरी ठगी गरेको पाइएको छ ।

तीनैजनाले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय धनुषामा राईनमाथि किर्ते, ठगी शीर्षकमा उजुरी दिएका थिए । सोको आधारमा राईनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ कदम चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनले आफूले किर्ते गरेको समेत स्वीकार गरिसकेकाले बुधबार नै जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दा १० दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।