जनकपुरधाम, १३ माघ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) बिरुद्ध विद्यार्थीहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

परीक्षा स्थगित गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

सीटीइभीटीले परीक्षा स्थगित गरेको भन्दै विद्यार्थीले स्थानीय रामानन्द चोकमा टायर बालेर प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

सीटीइभीटीले विद्यार्थीको जीवनसँग खेलबाड गर्न नपाउने र समयमै परीक्षा हुनुपर्ने विद्यार्थीहरुको माग छ । ३ बर्षको कोर्षलाई ५ वर्षसम्म पु¥याउनका लागि पटक–पटक परीक्षा स्थगित भईरहेको उनीहरुको आरोप छ ।

उनीहरुले स्वास्थ्य मापदण्ड पालना गरी भौतिक उपस्थितिमा परीक्षा लिनुपर्ने नभए आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्नुपर्ने माग गरेका छन् ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको र परीक्षार्थीहरुको संख्या पनि बढी भएकोले सीटीइभीटीले परीक्षा स्थगित गरेको थियो ।

परिषद्ले माघ १५ गते बायोमेडिकल तर्फको प्रवेश परीक्षा र माघ २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो ।

परिषद्ले माघ २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्र्तगतका नियमित तथा पुरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।