काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक शुक्रबार बस्ने तयारी भएको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।

उनले केन्द्रीय कार्यसमितिको आकार ठूलो भएकाले शुक्रबार बिहान ११ बजे भर्चुअल बैठक बस्ने बताए ।

कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् ।

महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने सभापतिमा दोस्रो बढि मत पाउने स्वतह केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार डा. शेखर कोइराला केन्द्रीय सदस्य भएका हुन् ।

३३ जना सभापतिले मनोनित गर्न पाउने सुविधा छ । जसअनुसार १३ जना केन्द्रीय सदस्य मनोनित भइसकेका छन् ।