सप्तरी, १३ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाइएको छ ।

सप्तरी निवासी रञ्जित कर्णले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् मन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाएका हुन् ।

यादवले गत माघ ५ गते रौतहटमा दिएको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ ।

मन्त्री यादवको सो अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानुन बमोजिम कार्वाहीको प्रक्रिया अगाडि बढाउन ज्ञापनपत्रमार्फत अनुरोध गरिएको छ ।

माघ ५ गते बलिदान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतको हत्या गर्ने आशयसहितको धम्की दिएकी थिइन् ।