जनकपुरधाम, १२ माघ । डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले उनीहरुसँग भेट गर्न नमानेपछि मुख्यमन्त्री कार्यालयका अधिकृत सुरेन्द्र कर्णलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा किसानलाई समयमा मलखाद र बीउको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, स्वतः बालीनाली बीमा निश्चित गर्नुपर्ने, किसान कार्ड र सिँचाइको व्यवस्था गर्नुपर्ने लगायतका बिभिन्न ११ बुँदे मागहरु समावेश गरिएको थियो ।

मुख्यमन्त्री राउत नभेटेपछि कर्मचारीलाई नै आफूहरुले ज्ञापनपत्र बुझाएको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष वशन्त कुशवाहाले बताए ।

उनले आफूहरु एक महिनादेखि आन्दोलन गर्दा समेत प्रदेश सरकारले कुनै चासो नदेखाएको गुनासो गरे ।