जनकपुरधाम, १२ माघ । राष्ट्रियसभा निर्वाचनमा मधेस प्रदेशमा दिउँसो २ः४८ बजेसम्म ३६६ जनाले मतदान गरेका छन् ।

कुल ३७२ मत रहेको यस प्रदेशमा दिउँसो २ः४८ बजेसम्ममा ३६६ मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

प्रदेशसभा तर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको प्याकुरेलले बताए । प्रदेश सभा सदस्य तर्फ २ जना र स्थानीय तह (प्रमुख, उपप्रमुख) तर्फ ४ जना मात्र मत खसाल्न बाँकी रहेका छन् ।

मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यका मतदान हुँदैछ । सत्ता गठबन्धन तथा नेकपा एमाले र लोसपाको गठबन्धन चुनावी मैदानमा छ ।

मधेस प्रदेशमा स्थानीय तहबाट २६८ मतदाता छन् भने प्रदेशसभा तर्फबाट १०४ जना छन् ।

यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा कांग्रेसको २ हजार २६२, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ । फोरम लोकतान्त्रिक कांग्रेसमा आइसकेकाले कांग्रेससँग अब २ हजार ३७० मतभार रहेको छ ।

राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि चुनाव भईरहेको छ ।

स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।