जनकपुरधाम, १२ माघ । राष्ट्रियसभा निर्वाचनमा मधेस प्रदेशमा अहिलेसम्म ९० प्रतिशत भन्दा बढी मत खसेको छ ।

कुल ३७२ मत रहेको यस प्रदेशमा दिउँसो १ः३० बजेसम्ममा ३२६ मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

प्रदेशसभा तर्फ ९४ र स्थानीय तहतर्फ २३२ मत खसेको प्याकुरेलले बताए ।

मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यका मतदान हुँदैछ । सत्ता गठबन्धन तथा नेकपा एमाले र लोसपाको गठबन्धन चुनावी मैदानमा छ ।

मधेस प्रदेशमा स्थानीय तहबाट २६८ मतदाता छन् भने प्रदेशसभा तर्फबाट १०४ जना छन् ।

यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा कांग्रेसको २ हजार २६२, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ । फोरम लोकतान्त्रिक कांग्रेसमा आइसकेकाले कांग्रेससँग अब २ हजार ३७० मतभार रहेको छ ।

राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि चुनाव भईरहेको छ ।

स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।