काठमाडौं, ११ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति चाँडै तोक्न सरकारसँग आग्रह गरेको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै यथाशीघ्र मिति तोक्न सरकारसँग आग्रह गरेको हो ।

स्थानीय तहको चुनाव २०७४ सालको वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आउँदो २०७९ जेठ ५ मा सकिने आयोगले जनाएको छ ।

वर्तमान संवैधानिक एवं कानुनी व्यवस्थाको आधारमा स्थानीय तहको चुनावको मिति तोक्ने काम जति ढिलो हुँदै जान्छ त्यति नै व्यवस्थापनको कार्य व्यावहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जाने आयोगले जनाएको छ ।

‘स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आउँदो स्थानीय तहको चुनावको मिति चाँडै तोक्न नेपाल सरकारसमक्ष निर्वाचन आयोग आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।