विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन

काठमाडौं, ११ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।
मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सहकुलपति समेत रहेका मन्त्री पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका हुन् ।
‘कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ,’ पौडेलले भने, ‘नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो फास्ट ट्रयाकबाट नतिजा निकाल्नुस् । ’
सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भए पनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन ।
अनुगमनका क्रममा मन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराए । ‘जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भए पनि समयमा सेवाग्राहीको काम हुनुप¥यो’ मन्त्री पौडेलले भने ।
सोही क्रममा परीक्षा नियन्त्रक जोशीले पर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र रिजल्ट निकाल्ने बताए । उनले पुराना कर्मचारी रिटायर हुँदा नयाँ कर्मचारीले सिस्टम सिक्ने एक वर्ष लाग्ने जोशीको भनाइ छ । उनले परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको स्वीकार गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


