जनकपुरधाम, १० माघ । मधेस प्रदेशमा लक्षित जनसंख्याको ४४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्णखोप लगाएका छन् ।

१२ वर्षदेखिमाथि उमेरसमूहका ४४.२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्णखोप लगाएको स्वास्थ्य निर्देशनालय मधेस प्रदेशले जनाएको छ । त्यस्तै, १८ वर्षमाथिका ५१.८ प्रतिशत नागरिकले भने पूर्णखोप लगाएका हुन् ।

स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सर्लाहीमा ५५.५, बारामा ४९.४, धनुषामा ४९.१, पर्सामा ४३.८, सप्तरीमा ४२.७ प्रतिशत, सिरहामा ४०.७, महोत्तरीमा ३५.४ र रौतहटमा ३४.७ प्रतिशत नागरिकले पूर्णडोज खोप लगाएका छन् । त्यस्तै, पहिलो डोज भने ५१.५ प्रतिशत नागरिकले लगाएको बताइएको छ ।

यस प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज भने ११ हजार जनाले लगाएका छन् ।

नेपाल सरकारले अग्रपंक्तिमा खटेकाहरुलाई बुस्टोर डोज दिन सुरु गरेकोमा मधेस प्रदेशमा १० हजार ९९८ जनाले बुस्टर डोज लगाएको स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक विजय झाले जानकारी दिए ।

बारामा सबैभन्दा बढी ३ हजार २२० जनाले बुस्टर डोज लगाएका छन् । त्यस्तै सर्लाहीमा २ हजार २६, धनुषामा १ हजार ९६०, रौतहटमा १ हजार ८२३, सिरहामा १ हजार ८७, महोत्तरीमा ४१६, सप्तरीमा ३२१ र पर्सामा १ सय जनाले बुस्टर डोज लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।