काठमाडौं, ९ माघ । राष्ट्रियसभा निर्वाचनको मौन अवधि आइतबार मध्यरातिबाट सुरु हुने भएको छ ।

माघ १२ गते हुने निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार मौन अवधिमा प्रचारप्रसारलगायतका गतिविधिमा निर्वाचन आचारसंहिता लागू हुनेछ । यस अवधिमा प्रचारप्रसार गर्न र मत माग्न पाइने छैन ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर क्षेत्रमा निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने आयोगले जनाएको छ ।

त्यस्तै, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत पनि मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन ।

राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि माघ १२ गते निर्वाचन हुन लागेको हो । १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचनमा सत्तारुढ गठबन्धन, नेकपा एमालेसहित १२ राजनीतिक दलले भाग लिँदै छन् । यो निर्वाचनमा पाँच दलीय गठबन्धन एकातिर छ भने मधेस प्रदेशबाहेकका प्रदेशमा एमाले एक्लै भिड्दैछ ।