काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल कोरोना संक्रमित भएकी छन् ।

प्रचण्डको सचिवायलका अनुसार दाहालको हाल मेडिसिटी अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।

तीन दिनदेखि अस्पताल भर्ना भएकी सीतामा निमोनिया पनि देखिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सीता पिएसपी नामक रोगबाट लामो समयदेखि ग्रसित छिन् ।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एण्ड स्ट्रोक (एनआइएनडिएस) का अनुसार, पिएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो, जसले शरीरको गति, हिँडाइको सन्तुलन, बोल्ने, निल्ने, हेर्ने प्रक्रियाका साथै मनोदशा र सोचसमेत प्रभावित बनाउँछ ।

मष्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँदै लैजान्छ ।एनआइएनडिएसका अनुसार यो रोग हरेक एक लाखमा तीनदेखि ६ जनासम्मलाई हुन्छ ।

सामान्यतः पिएसपीको लक्षण ६० वर्ष पुगिसकेकाहरूमा देखिने गरेको छ । तर, कसै कसैलाई यो रोगले चाँडै समात्न सक्छ । पिएसपीबाट महिलाभन्दा पुरुष धेरै प्रभावित रहेको चिकित्सकहरु बताउँछन् ।