सर्लाही, ९ माघ । सर्लाहीमा तातो रक्सीमा डुबेर एक बालकको मृत्यु भएको छ भने बालककी आमा घाइते भएकी छन् ।

हरिवन नगरपालिका–८ बेताली निवासी मैया गुर्मछानका डेढ वर्षीय छोराको तातो रक्सीमा डुबेर मृत्यु भएको हो ।

शनिबार साँझ घरमै मदिरा बनाउने क्रममा बालक अचानक भर्खर आगोबाट निकालिएको तातो रक्सीको भाँडोमा परेका थिए ।

बालकलाई तत्कालै उपचारका लागि हरिवनस्थित नमूना अस्पताल लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नै एम्बुलेन्समार्फत काठमाडौं लैजाने क्रममा बाटोमै बालकको मृत्यु भएको थियो ।

छोरालाई जोगाउने क्रममा अत्तालिँदा आमालाई पनि रक्सीले पोलेको छ । उनको हातमा रक्सीले पोल्दा गहिरो घाउ लागेको छ ।

बालकका बुवा रोजगारीको शिलशिलामा विदेशमा छन् ।

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।