महोत्तरी, ९ माघ । महोत्तरीमा एक मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

जिल्लाको सोनमा गाउँपालिका–१ स्थित सोनमा बजारमा सञ्चालित जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्टरमा शनिबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।

स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको ग्यारेजमा आगलागी हुँदा घर, मोटरसाइकल, मोटरसाइकलको टायर, ट्युब, ट्याक्टरका टायर, ट्युब, मोबिल र विभिन्न पार्टपुर्जा जलेर नष्ट भएको छ ।

आगलागीबाट ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका पवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

गौशाला नगरपालिकाको दमकल, प्रहरी चौकी रघुनाथपुर, इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागी कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।