काठमाडौं, ९ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिलाई सरकारले नोटिसमा राखेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

माघ ५ गते बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा अयोजित एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने आशयको चेतावनी दिएपछि गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।

मन्त्री यादवको चौतर्फी आलोचना भइरहँदा पनि प्रधानमन्त्री किन मौन रहेको प्रश्नमा गृहमन्त्री खाँणले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कुरा आफुहरु सबैले नोटिसमा राखेको बताए । उनले मन्त्रीहरुले संविधान र विधिको पालनाप्रति गम्भीर बन्नुपर्ने बताए ।

‘सबैभन्दा पहिला संविधान र विधिको पालना सरकारले नै गर्नुपर्छ,’उनले भने, ‘त्यसकारण मन्त्रीको अभिव्यक्ति कानुन र विधिसम्मत हुनुपर्छ । विधि र कानुन सम्मत अभिव्यक्ति राख्दा राम्रो हुने हो ।’

खाँणले भने, ‘विभागीय मन्त्रीसँग सम्बन्धित पार्टीले पनि छलफल गर्ला । त्यसपछि मात्र यस विषयमा सरकारले सोँच्ने हो ।’

यसअघि शनिबार जसपाले एक विज्ञप्ति जारी गर्दै मन्त्री यादवको बचाउ गरेका थिए ।