धनगढी, ८ माघ । कैलालीको धनगढीमा एक मोबाइल पसलबाट मोबाइल चोरी गर्ने दुईजना प्रहरी निलम्बनमा परेका छन् ।

धनगढी ट्राफिक चौराहास्थित ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुईजना प्रहरी निलम्बनमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाललाई निलम्बित गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले भने,‘उनीहरुविरुद्ध चोरीको मुद्दा दर्ता भएर ५ दिनको म्याद थप भएको थियो । म्याद थप हुनेबित्तिकै स्वतः निलम्बन हुन्छ ।’

लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा गएका माल र बुढालले मोबाइल चोरी गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले मुद्दा दर्ता गर्दै उनीहरूलाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको थियो ।

भिडियो सार्वजनिक हुनुअघि सोही मोबाइल ग्यालरीबाट धनगढी–५ का दोर्णबहादुर रावल, वडा नम्बर–२ बस्ने टेक बिष्ट र वडा नम्बर–४ का मनिष भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको थियो ।