रौतहट, ८ माघ । हिंसात्मक अभिव्यक्ति दिएको भन्दै रौतहटको गौरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको पुतला जलाइएको छ ।

मन्त्री यादवको बर्खास्तीको माग गर्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघले प्रदर्शन गरेको हो । संघका केन्द्रीय सदस्य निवेश यादवको नेतृत्वमा सयौं युवा सडकमा उत्रिएर नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

एमाले पार्टी कार्यालयबाट सुरु भएको र्याली बिपी चौकमा गएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनको नेतृत्व गरेका एमाले जिल्ला सदस्यसमेत रहेका संघका केन्द्रिय सदस्य यादवले तत्काल मन्त्री रेणुलाई बर्खास्त गर्न माग गरे । साथै गौर हत्याकाण्डको फाइल पुनः खोलेर दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदर्शनमा युवा नेताहरु मुन्ना कुमार यादव, बालाशंकर कुश्वहालगायतले अगुवाई गरेका थिए । गत माघ ५ गते मन्त्री यादवले पुनः गौर हत्याकाण्ड गराइदिने भन्दै हिंसा भड्किने अभिव्यक्ति दिएपछि संघले मधेशभर प्रदर्शन गरेको छ ।