जनकपुरधाम, ८ माघ । महोत्तरीका विभिन्न स्थानबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मटिहानी नगरपालिका–३ बस्ने २३ वर्षीय सहाउद्दिन राईन, जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय मोहम्मद जाहिर रेजा, लक्ष्मिनियाँ गाउँपालिका–१ बस्ने २३ वर्षीय असरफ मोहम्मद, भारतको विहार राज्यको सीतामढी जिल्ला मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हा र सीतामढी जिल्लाकै सुरसण्ड शहर बस्ने ३९ वर्षीय उदयकुमार साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख ४ हजार २०० र १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब ३ लाख नक्कली नोट बनाउने कागजसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत दशगजा क्षेत्रबाट सोही नगरपालिका–३ बस्ने २३ वर्षीय सहाउद्दिन राईनलाई स्रोत नखुलेको ३० लाखसहित पक्राउ गरेको थियो ।

त्यस्तै, सोही दिन जलेश्वर नगरपालिका–३ स्थित जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वर अगाडि भारतबाट आएका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय मोहम्मद जाहिर रेजा र लक्ष्मिनियाँ गाउँपालिका–१ बस्ने २३ वर्षीय असरफ मोहम्मदलाई ४ हजार २०० र करिब ३ लाख बराबरको ५०० र १०० का नक्कली नोट बनाउने काजगसहित प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै, माघ ६ गते मटिहानी नगरपालिका–३ स्थित पेट्रोलपम्प अगाडिबाट प्रहरीले २ हजार नेपाली नक्कली नोटसहित भारतको विहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हालाई पक्राउ गरेको थियो भने ७ गते जलेश्वरको मुख्य भन्सार कार्यालय अगाडिबाट प्रहरीले भारतबाट नेपाल आउँदै गरेका भारत विहार राज्यको सीतामढी जिल्लाको सुरसण्ड शहर बस्ने ३९ वर्षीय उदयकुमार साहलाई स्रोत नखुलेको ९ लाख ९६ हजार ४०० भारतीय रुपैयाँ र ९ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको भारतका विभिन्न बैंकको चेकसहित पक्राउ गरेको थियो ।

महोत्तरीमा करिब ३८ किमी नेपाल भारतको खुला सिमानाका कारण अवैधरुपमा स्रोत नखुलेको रकम, नक्कली नोटका साथै नक्कली नोट बनाउने तथा कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ ।