सप्तरी, ८ माघ । सप्तरीमा कोरोनाविरुद्धको भ्याक्सिनको दुबै डोज लगाएका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका वडा नम्बर–७ का ६५ बर्षीय पुरुष रहेका छन् ।

बिरामी परेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको पुरुषको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिलकुमार यादवले उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृतकले कोरोनाविरुद्धको खोपको दुबै डोज लगाएका थिए । उनी विभिन्न रोगबाट पीडित रहेको बताइएको छ ।

यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका–९ की ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

सप्तरीमा कोरोनाको तेस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।