काठमाडौं, ७ माघ । पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने प्रेस काउन्सिल नेपालले माग गरेको छ ।

टिभि टुडेमा कार्यरत पत्रकार विश्वकर्माको बिहीबार पाटन अस्पतालमा निधन भएको थियो ।

उपचारका लागि निजामती कर्मचारी अस्पताल पुगेका विश्वकर्मालाई थोरै पैसा अपुग हुँदा सो अस्पतालले भर्ना नगरी पाटन अस्पताल रिफर गरेको भन्दै आफन्तजनले उनको निधनको दोष निजामती कर्मचारी अस्पताललाई दिएको समाचार बाहिरिएका छन् ।

यसै सन्दर्भमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रवार अस्पताल प्रशासन पुगी अस्पतालले गरेको लापरबाहीको सम्बन्धमा छानबिन गरी दोषीउपर कारबाहीको माग गरेको हो । अध्यक्ष बस्नेतले अस्पतालले सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने विषयमा अस्पताल प्रशासनसँग कुरा भएको बताए ।

’सिभिल हस्पिटलको लापरबाहीको कारणले र थोरै पैसा मध्य राति बुझाउन नसकेको कारणले पनि उहाँको समयमा उपचार भएन र मृत्यु भयो भन्ने विषयमा कुरा उठेको हुनाले यो विषयमा ध्यानाकर्षण गराउन र यदी अस्पतालको लापरबाही हो भने त्यो लापरबाही मिडियामा अहिले आएको छ, त्यो विषयमा छानबिन होस् । र दोषीमाथि कारबाही होस् । र पीडितलाई क्षतिपूर्ति पनि दिलाउनका लागि हामी प्रेस काउन्सिल नेपालको टिम आज आएर हामी प्रशासनमा कुरा राखेका छौँ’ उनले भने ।

अध्यक्ष बस्नेतले अस्पतालले के–कस्तो प्रक्रिया अगाडि बढाउँछ केही दिन पर्खने र सोहीअनुसार प्रेस काउन्सिलले कदम चाल्ने बताए । अछामको रामारोशन गाउँपालिका–५ स्थायी घर भएका २६ वर्षीय पत्रकार एलबी विश्वकर्मा काठमाडौंमा बसी सक्रिय पत्रकारिता गरिरहेका थिए ।