जनकपुरधाम, ७ माघ । हिंसात्मक अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध यूवा संघ नेपालका कार्यकर्ताहरु सडकमा उत्रेका छन् ।

यूवा संघ धनुषाले शुक्रबार जनकपुरधाममा मन्त्री यादवविरूद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी यूवाहरुले ‘नरसंहारवादी मुर्दावाद’, ‘रेणु यादवलाई मन्त्री पदबाट बर्खास्त गर’, ‘हत्यारा सरकार चाहिदैन’, ‘मापसे सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।

कानूनलाई हातमा लिएर आफ्नो पदीय मर्यादा बिर्सिंदै हिंसात्मक अभिव्यक्ति दिएकाले मन्त्री यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त नगरे कडा आन्दोलनमा जाने यूवा संघका कार्यकर्ताहरुले चेतावनी दिएका छन् ।

माघ ५ गते बलिदानी दिवसका दिन रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिएकी थिइन् ।

उनको सो अभिव्यक्तिका कारण अहिले सर्वत्र आलोचना भइरहेको छ । उनलाई वर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि चौतर्फी दबाब परेको छ ।

यता, मन्त्री यादवको बचाउ गर्दै मधेश प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले पत्रकार सम्मेलनको आयोजन गरेका छन ।

जनकपुरमा बिहीबार एक पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री यादवले मन्त्री रेणु यादवले मीडियामा आएजस्तो सीके राउतलाई मार्ने धमकी नदिएको स्पष्टिकरण दिएका छन् ।

उनले कार्यक्रममा जाँदा राउतका कार्यकर्ताले नै बरु आफूहरुको बाटो अबरुद्ध गरेर लाठी र भाटा लिएर प्रदर्शन गरेको बताए । त्यस क्रममा आफुहरुले प्रयोग गरेको गाड़ीमा तोड़फोड़ समेत गरिएको उनले आक्रोश व्यक्त गरेका छन ।