जनकपुरधाम, ७ माघ । कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररूपमा फैलिएर जनजीवन अस्तव्यस्त बन्न थालेपछि स्थानीय प्रशासनले जारी गरेको नियममा कडाइ सुरू गरेको छ ।

स्थानीय प्रशासनले नागरिकमाथिको निगरानी बढाउँदै धनुषामा मास्क नलगाउनेल व्यक्तिलाई जरिवाना तिराउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले मास्क नलगाउने व्यक्तिलाई १ सय रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

कोरोना संक्रमण निरन्तर बढ्दै गईरहेको अवस्थामा सर्वसाधारणमा मास्क नलगाउने प्रवृत्ति देखिएपछि स्थानीय प्रशासनले कडाई गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

प्रजिअ पौडेलले जिल्लामा मास्क लगाउन दुई दिने जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताए । शुक्रबार र शनिबार जनचेतनामूलक कार्यक्रम गरिने र त्यसपछि पनि मास्क नलगाउने व्यक्तिबाट जरिवाना असुल गरिने उनले बताए ।

आइतबारदेखि मास्क नलगाउने व्यक्तिसँग १ सय रूपैयाँका दरले जरिवाना असुल गरिने प्रजिअ पौडेलले जानकारी दिए ।

शुक्रबारदेखि जनकपुरधामको मुख्य बजार क्षेत्रमा मास्क वितरण अभियानको शुरुवात गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघ र स्थानीय प्रशासनको समन्वयमा जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको छ ।