त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौं, ६ माघ । त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।
बिहीबार बसेको परीक्षा नियन्त्रण कार्यालयको बैठकले माघ ९ गतेदेखिका सबै परीक्षाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।
शुक्रबार र शनिबार हुने परीक्षा भने यथावत रहने र बाँकी परीक्षा सबै स्थगित गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो । अब बाँकी रहेका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।
कोरोना महामारीको समयमा पनि परीक्षा सञ्चालन गरेको भन्दै चर्को विरोध हुँदै आएको थियो । चर्को विरोधपछि त्रिविले परीक्षा रोक्ने निर्णय गरेको हो । अन्य विश्वविद्यालयले भने यसअघि नै परीक्षा स्थगित गर्ने निर्णय गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


