महोत्तरी, ६ माघ । नेकपा एमाले महोत्तरीको जिल्ला अधिवेशन पुनः स्थगित भएको छ ।

बुधबार र बिहीबार हुने भनिएको जिल्ला अधिवेशन कोरोनाका कारण रोकिएको हो । नेपाल सरकारले २५ जनाभन्दा बढीलाई भेला नहुन र सभासम्मेलन नगर्न निर्देशन जारी गरेपछि अधिवेशन स्थगित गरिएको एमाले महोत्तरीले जनाएको छ ।

एकपक्षका नेताहरूले जिल्ला आयोजक कमिटीमा विवाद नहुन्जेल अधिवेशन हुन नसक्ने बताइरहँदा केही नेताहरूले भने आयोजक कमिटी बनाएर सपथग्रहणसमेत गराइसकिएको दाबी गरेका छन् ।

एमालेका पोलिटब्युरो सदस्य तथा महोत्तरीका नेता रामदयाल मण्डलले एमालेभित्रै आयोजक कमिटी बनाएर अधिवेशनको पूर्ण तयारी रहेका बेला कोरोनाका कारण स्थगित भएको दाबी गरे । उनले विधि र विधानअनुसार नै आयोजक कमिटीलाइ सपथ खुवाइएको जिकिरसमेत गरे ।

अर्का केन्द्रीय सदस्य सरोज यादवले भने सपथग्रहण असहमतिमै खुवाएको हुँदा यो पूर्णतः अवैधानिक र अव्यावहारिक भएको दाबी गरेका छन् ।

महोत्तरीमा एमालेको अधिवेशनको तयारी नपुगेको भन्दै पुस २४ र २५ गते गर्नुपर्ने अधिवेशन माघ ५ र ६ गतेका लागि निर्धारण गरिएको थियो ।