जनकपुरधाम, ६ माघ । मधेश प्रदेशमा ५० प्रतिशत व्यक्तिले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् ।

गत पुस २५ गतेसम्ममा खोपको दुबै डोज लगाउने १८ वर्षमाथिका ३८ प्रतिशत व्यक्ति मात्र रहेकोमा त्यो संख्या बढेर ५० प्रतिशत पुगेको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।

निर्देशनालयले दिएको जानकारी अनुसार सर्लाहीमा ६३.३, धनुषामा ५२.६, बारामा ५३.६, पर्सामा ५१.१, सप्तरीमा ४७.७, सिरहामा ४६.८, रौतहटमा ३.६ र महोत्तरीमा ३६.६ प्रतिशत व्यक्तिले खोपको पूर्ण डोज लिएका छन् ।

त्यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्रा खोप लगाउनेको संख्या करिब ५९ प्रतिशत रहेको बताइएको छ । सर्लाहीमा ७५, बारामा ७०, महोत्तरीमा ६९, पर्सामा ६५, धनुषामा ६४, सिरहामा ६३, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत नागरिकले पहिलो डोज लिएको निर्देशक झाले बताए ।

त्यस्तै १२ देखि १७ वर्ष उमेर समूहका करिब ६२.२ प्रतिशत व्यक्तिले खोप लगाइसकेको निर्देशनालयले जनाएको छ ।

नेपाल सरकारले २०७८ पुस मसान्तभित्र ६६ प्रतिशत नागरिकलाई खोपको दुबै डोज दिने लक्ष्य लिएको थियो ।