काठमाडौं, ६ माघ । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ ।

निर्वाचनका लागि आयोगले २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको हो ।

आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई लक्षित गरेर मापदण्ड जारी गरेको छ ।

आयोगको मापदण्डअनुसार कोरोना संक्रमित मतदातालाई प्राथिमकताका साथ छुट्टै लाइनमा बसेर, पन्जा, मास्क र फेस सिल्डको प्रयोग गरेर मतदान गर्न पाउने छन् ।

संक्रमितले प्रयोग गरेका मतदानस्थलका सामग्रीहरू निसंक्रमण गरी पुनः नियमित मतदानको कार्य सुचारु गर्ने व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ ।

मतदानमा सहभागी हुनका लागि पूर्ण खोप लगाएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । मतदानस्थल मास्क अनिवार्य गरिएको छ ।

मतदानस्थलमा तापक्रम मापन गर्ने र दुई जना स्वास्थ्यकर्मीको रहेको हेल्थ डेस्कको व्यवस्था गरिएको छ ।