जनकपुरधाम, ६ माघ । धनुषामा बीभत्स हत्या गरिएको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर–६ मालटोलस्थित पूर्व–पश्चिम लोकमार्गदेखि २ किलिमिटर दक्षिणतर्फ रहेको पदम थापाको आँपको बगैचामा अन्दाजी २५/२६ वर्षीया युवतीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा ती युवतीको शव बुधबार साँझ फेला परेको इलाका प्रहरी कार्यालय यज्ञभूमिले जनाएको छ ।

मृतक युवतीको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

कालो वर्णकि ती युवती रातो रंगको स्वेटर र निलो रंगको कुर्ता सुरुवाल लगाएकी छन् । युवतीको कसैले जर्बजस्ती करणी पश्चात हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।