काठमाडौं, ५ माघ । राष्ट्रियसभा निर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न पाउने भएका छन् ।

बुधबार निर्वाचन आयोगले १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले पनि भोट हाल्न पाउने गरी व्यवस्था गर्ने भनेको हो ।

‘कोरोना संक्रमित भएको भए पनि ऊबाट अर्को व्यक्तिलाई नसर्ने गरी भोट हाल्न पाउने व्यवस्था मिलाउने भन्ने भएको छ’ आयोगका साहायक प्रवक्ता कोमलप्रसाद धमलाले भने । उनका अनुसार संक्रमित भएकाहरुलाई भोट हाल्न मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिनेछ ।

१९ सदस्यका लागि यही माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । निर्वाचन आयोगले ७ वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ ।

१९ बुँदे मापदण्डमा आयोगले स्वास्थ्य सतर्कताका विषयहरु समावेश गरेको छ । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा स्वास्थ्यकर्मीको टोली खटिनेछ । र मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो जाँच गर्ने व्यवस्था मिलाइनेछ ।