‘मधेस’ प्रदेशका सांसद र जनतालाई प्रचण्डले दिए बधाई

काठमाडौं, ५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को नाम ‘मधेस’ प्रदेश भएपछि प्रदेशका सांसद र जनतालाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रदेश संसदको दुई तिहाइ बहुमतले प्रदेशको नाम ‘मधेस’ टुंग्याएको दुई दिनपछि प्रचण्डले बधाईसहित शुभकामना दिएका हुन् ।
‘मधेस’ प्रदेश माओवादीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार भएको प्रचण्डले बताएका छन् ।
उनले भनेका छन्, ‘हार्दिक बधाई ! हाम्रो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्म अनुसार नै प्रदेश २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकाम राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पूर्ण सदस्यहरू र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।’
८ सांसद रहेको माओवादीले मधेस प्रदेशको पक्षमा उभिएपछि प्रदेशको सत्ता नेतृत्व दल जनता समाजवादी पार्टी, प्रमुख विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीलाई मधेस प्रदेशको पक्षमा दुई तिहाइ बहुमत जुटाउन सहज भएको थियो ।
दुई तिहाइ बहुमतका लागि अन्य पार्टीका पनि १७ जनाले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


