जनकपुरधाम, ५ माघ । आज २०७८ माघ ५ गते । आजभन्दा १५ वर्ष अगाडि २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले मधेसका लागी दिएको शहादतबाट मधेस आन्दोलनको शुरुवात भएको थियो ।

सो दिन नेपालको इतिहासमा खास गरी मधेसी जनताको मानसपटलमा बलिदानी दिवसको रुपमा सदासर्वदाका लागि दर्ज भएको छ ।मधेसीको पहिचान, स्वाभिमान र आत्मसम्मानका लागि रमेशले दिएको बलिदानी आन्दोलनको सुत्रपात भएको दिनको रुपमा सम्झिदै आएको छ ।

माघ ५ गतेको घटनाले सिर्जना गरेको मधेस आन्दोलनको प्रमुख उपलब्धी नै नेपाललाई संघीय मुलुकमा रुपान्तरण गर्नु हो । बितेको १५ वर्षमा मधेश र देशले माघ ५ को जगमा धेरै कुरा पाएको छ ।

यसले नेपालको राजनीतिमा नवीन युगको सुत्रपात गरेको छ, जसमा उत्पीडित र सीमान्तकृत समुदायको प्रतिरोधको राजनीतिले नयाँ उचाई र नयाँ आत्मविश्वासका साथै मुलुकले संघीय स्वरुप प्राप्त गरेको हो । मधेसीको पहिचान राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित भएको छ ।

देश र मधेसको ऐतिहासिक राजनीतिक परिवर्तनका लागि सैकडौं वीर मधेसीहरुको बलिदानी कहिल्यै बिर्सिन सकिदैन । यो बलिदानी दिवस उनीहरुको शहादतप्रतिको उच्च सम्मान र श्रद्धाञ्जली हो ।

प्रथम मधेश विद्रोहको आज १५ औं वर्ष । २०६३ माघ १ गते संघीयता र समावेशीताविनाको नेपालको अन्तरिम संविधान जारी भयो ।त्यसको विरोधमा मधेसीहरुले माइतिघरमा २ गते संविधान जलाए । संविधान जलाउने मधेसीहरु पक्राउ परे । त्यसैको निहुँमा माघ ३ गतेबाट मधेस बन्द भयो र ५ गते प्रदर्शनका क्रममा सिरहाको लहानमा रमेश महतोको प्रहरीको गोलीले मृत्यु भयो । त्यसपछि मधेस आन्दोलनमय भई तात्यो ।

माघ ५ लाई मधेसीहरुले मधेस बलिदानी दिवसका रुपमा मनाउने गरेका छन् र मधेस विद्रोहको सम्झना गर्ने गरेका छन । २१ दिनसम्म चलेको मधेस विद्रोहमा ५४ जना सहीद भए ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दुई पटक जनताको नाममा सम्बोधन गरेपछि विद्रोह रोकियो । प्रदर्शन रोकिएको महिनौंपछि सरकारले उपेन्द्र यादव नेतृत्वको फोरमसँग २२ बुँदे सम्झौता गर्यो ।

नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम र तत्कालै गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टीको नेतृत्वमा दोस्रो मधेस आन्दोलन पनि सुरु भयो । दोस्रो संविधान सभाबाट संविधान जारी गर्न लाग्दा तेस्रो मधेस आन्दोलन भयो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेतृत्वमा तयारीका साथ तेस्रो मधेस आन्दोलन भएको थियो । प्रदर्शनकारीहरु ठूलो संख्यामा मारिन थालेपछि प्रदर्शनकारीहरु ‘नो म्यानस ल्याण्ड’ अर्थात् नेपाल–भारतको सीमा क्षेत्रमा बसेर नाका अवरुद्ध गरे । यसलाई भारतीय नाकाबन्दीका रुपमा पनि चिनिन्छ ।

मधेस विद्रोहको यस १५ वर्षको अवधिमा मधेसीले के गुमाए र के पाए भन्ने कुराको विश्लेषण पनि आवश्यक छ ।

मधेसीले के गुमाए त?

मधेस विद्रोहमा मधेसमा बसोबास गर्ने सम्पूर्ण जात, समुदाय आन्दोलनमा होमिएका थिए । तर, १५ वर्षको बीचमा मधेसमा जातीय ध्रुबीकरण बढेको छ भने मधेसभित्रको समुदायमा खटास पसेको छ । मधेस विद्रोहपछि नेकपा एमालेसहितको राष्ट्रिय पार्टीको प्रत्यक्ष डिजाइनमा गराइएको ‘थरुहट आन्दोलन’ले मधेस आन्दोलनको शक्तिलाई कमजोर बनाएको छ । यहाँसम्म कि माओवादी र एमाले–कांग्रेस थरुहट आन्दोलनमा बाडिँदा अहिलेसम्म पनि थारुहरुले थरुहट आन्दोलनका लागि दुईवटा शब्द प्रयोग गर्छन् । कांग्रेस–एमाले निकटहरुले ‘थरुहट आन्दोलन’ र माओवादी निकटहरुले ‘थारुवान आन्दोलन’ ।

मधेस आन्दोलनमा होमिएका थारुहरु पुनः थरुहट आन्दोलनमा होमिए । थारुहरुको पहिचान संकटमा पर्न लागेको वक्तव्य एमाले र माओवादीका नेताहरुले दिएका थिए । त्यसपछि घनिभूत रुपमा थारुहरुले आन्दोलन अगाडि बढाए । आफू ‘मधेसी’ नभइ ‘थारु’ हुँ भन्दै विवादमा उत्रिए । मधेसभित्रको थारु र गैरथारु बीच तनाव उत्पन्न हुँदा राज्यले न त थारुको माग सम्बोधन गर्यो न त मधेसीको नै ।

त्यस्तै, धार्मिक अल्पसंख्यक मुस्लिमलाई पनि राज्यले अलग्यायो । जबकि पहिलो मधेस विद्रोहमा सुरक्षाकर्मीबाट चार जना मारिएका थिए । तेस्रो मधेस आन्दोलनमा पनि तीन जना मारिएका थिए ।

प्रथम मधेस विद्रोह पश्चात मधेसी बाहुल्यको भूगोल खुम्चिएको छ । पहिलो मधेस विद्रोहको नारा ‘एक मधेस एक प्रदेश’ थियो । तर, हाल मधेसको भूभाग ७ वटा प्रदेशमा रहेको छ । जसमा एउटा प्रदेश बाहेक अन्य कुनै प्रदेशमा मधेस विद्रोह पक्षधरको शासन छैन ।

तत्कालीन २२ र हालको २३ जिल्लामा रहेको मधेसलाई ८ जिल्लामा खुम्च्याइएको छ । समावेशी मर्मलाई समाप्त पार्नेगरी सबैलाई समावेशी कोटामा ल्याइएको छ । अर्थात् ‘सबैका लागि आरक्षण, कसैका लागि पनि होइन’ भन्ने सिद्धान्त ।

मधेसको आधुनिक राजनीति संघीयताको मागबाटै सुरु भएको हो । तर संघीयता आएपनि अधिकांश अधिकार केन्द्रमै राखिएको छ ।स्रोतसाधन पनि केन्द्रकै नियन्त्रणमा छ ।

प्रथम मधेस विद्रोह हुँदा आत्मनिर्णयसहितको मधेस प्रदेश माग गर्ने पक्षधर निकै बलियो भएर आएका थिए । सोहीअनुसार राजनीतिक दल सक्रिय भए र प्रथम संविधान सभामा ठूलो संख्यामा मधेसी समुदायको प्रतिनिधित्व भएको थियो । तर, अहिले संख्या घटेको छ ।२०६१ सालमा सशस्त्र संघर्षबाट मधेस स्वतन्त्र देश बनाउन जयकृष्ण गोइतले आन्दोलन सुरु गरेका थिए । मधेस विद्रोहताका त्यो शक्ति बलियो थिएन ।

यति गुमाउँदा पनि मधेस विद्रोहपछि मधेसीहरुले केही उपलब्धि पनि हासिल गरेका छन । सन् १८१६ र १८३६ को सन्धिको आधारमा मधेसको भूभाग नेपालमा गाभियो । गोर्खा साम्राज्यका सैनिकविरुद्ध लडेका मधेसीहरुलाई इस्ट इन्डिया कम्पनीले गोर्खाली शासकको जिम्मा लगाए । हुन त सन्धिमा मधेसीसँग नेपाली शासकले बदला नलिने वा विभेद नगर्ने उल्लेख भएको थियो । तर, गोर्खा शासकले मधेसी सैनिक बल समाप्त पारे भने गोर्खा सैनिकमा प्रवेशमा रोक लगाए । मधेसबाट ठूलो संख्यामा कर उठाउन थाले । इतिहास र पहिचान मेटाउन थाले । त्यसबेलादेखि मधेसमा संघर्ष सुरु भयो ।

मधेसमा गोर्खा शासकको ठूलो संख्यामा कर उठाउने विरुद्ध भकारी फोर आन्दोलन, नेपाली सैनिक लगाएर मधेसीलाई दबाउने प्रबृतिका विरुद्ध मोछ उखाड आन्दोलन भयो । त्यसपछि किसान आन्दोलन र स्वतन्त्र मधेस आन्दोलन पनि भए । तर, ती सबै आन्दोलनहरु कुनै निष्कर्षमा पुगेनन् । संघर्ष जारी रह्यो ।

२०१० सालताका तराई कांग्रेसको स्थापना मधेस राजनीतिको मध्यकालीन समय मान्न सकिन्छ । त्यसपछि २०४७ बाट मधेस आधुनिक राजनीतिमा प्रवेश गर्यो । जसले निरन्तर र संशक्त संघर्ष गर्न सिकाएको छ ।

मधेस विद्रोहको १५ बर्षमा मधेसीहरुले आफ्नो अधिकार र राज्यका विभेदका विरुद्ध संघर्ष गर्न सिकेका छन् । सामान्य अधिकार पाउन पनि आन्दोलन चाहिन्छ भन्ने मानोविज्ञान मधेसीमा बसेको छ ।

मधेस विद्रोहको यस १५ बर्षमा मधेसीमा राजनीतिक सचेतना बढेको छ । राजनीतिक विषयबस्तु बुझ्न थालेका छन । सत्ताका आयामहरुलाई पनि पहिचान गरेका छन् । त्यस्तै राजनीतिकर्मीहरुले पनि सत्ताको स्वाद भोग गरेका छन । जसकारण उसले सत्ता साझेदारीमा जोड दिँदैछन् ।

युवावर्गमा पनि राजनीतिक सचेतना बढेकोले अहिले गाउँघर टोलमा कुनै पनि घटनामाथि बहस हुने गरेको छ । नेपाल राज्यको स्थापनाभन्दा हजारौं वर्ष पुरानो मधेसको पहिचान रहेको छ । मझिमदेश, मध्यदेश लगायतका कयौं शब्दहरु मधेसका लागि प्रयोग हुँदै आएको छ ।

मधेस विद्रोहअघि कतिपयले आफुलाई मधेसी भन्न रुचाउँदैनथिए । काठमाडौंमा मधेसी भाषा बोल्न पनि डराउँथे । तर, आज मधेसीहरुले गर्वका साथ भन्छन् म मधेसी हुँ । झन प्रदेश २ को नाम नै मधेस प्रदेश दुई तिहाई भन्दा बढि मतले प्रदेशसभाबाट स्वीकृत भएको छ ।नेपालले गौण गर्न खोजेको मधेसको पहिचान अब अन्तर्राष्ट्रियस्तरमा पनि चिनिएको छ ।

मधेस विद्रोहले नेपालको पहिचान फेरेको छ । माउन्ट एभरेष्टको देश मात्र होइन, प्लेन ल्याण्ड मधेसको देश भनेर समेत नेपाल चिनिन थालिएको छ ।

ब्रिटिस र भारतको लाइब्रेरीमा धुलोमैलो खाएर बसेका मधेसका दस्तावेजहरु अब विश्वका अधिकांश ठूलो लाइब्रेरीमा पाउन थालिएको छ । मधेस विद्रोहपश्चात आधुनिक र बैकल्पिक राजनीति एकसाथ हिँड्न थालेको छ । दोस्रो मधेस आन्दोलनताका मधेसी मुलधारका राजनीतिक दलले मधेसका सशस्त्र समूहलाई देखाएर बार्गेनिङ शक्ति बढाएका थिए । आफूहरुले भनेको जति कुरा नमाने सशस्त्र समूहले मधेस कब्जा गर्ने तर्क उनीहरुले गर्थे । जसको आडमा केही हदसम्म मधेसी राजनीतिक दलले ठूलै भाग पाए ।

अहिले पनि मधेसमा अर्को बैकल्पिक राजनीतिक शक्ति बनेको छ । तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि तेस्रो मधेस आन्दोलनताका गरेको ३६ पटकको वार्तामा कयौं पटक डा.सीके राउतको चर्चा गरेका थिए । मधेसमा राजनीतिक दलहरु संगठित एवं सशक्त भएका छन् । लोकतन्त्र तथा संवैधानिक प्रक्रियालाई अपनाएका छन । सामाजिक परिवर्तनहरु पनि आएका छन् । अपूरो भएपनि समावेशी र संघीयता कार्यान्वयन भएको छ । यही नै मधेसीका लागि १५ वर्षमा भएको मूल उपलब्धी हो ।

शहिद परिवारहरु के भन्छन ?

मधेस आन्दोलनका सहीद दिलिप यादवका पिता रामनरेश यादव आफु विदेशमै कार्यरत छँदा आफ्नो १६ वर्षीय छोरालाई गुमाएको थाहा पाएपछि नेपाल फर्के ।

आफ्नो पाँच जना सन्तान मध्ये एक्लो साहाराको रुपमा रहेको छोराले मधेस आन्दोलनमा वलि दिएपनि अहिलेसम्म कुनै मधेसी नेताले सोध्न समेत आएका छैनन् । उनका अनुसार मधेस आन्दोलनको समयमा सहीद भएकाहरुको परिवारलाई ५० लाख दिने घोषणा गरिएपनि नेपाल सरकारले दिएको १० लाख पछि अरु एक रुपैयाँको सहयोग नपाएको उनी बताउँछन ।

सहीदहरुकै कारण मधेश सरकार गठन भएपनि मधेस सरकारले आफुहरुप्रति केहि नसोचेको यादवको गुनासो छ ।

यसैगरी अर्का सहीद नितु यादवकी आमा राजकुमारी देवी यादवका अनुसार मधेस आन्दोेलनमा आफ्नो सन्तानलाई गुमाउँदा पनि सरकारले कुनै किसीमको सहयोग गरेको छैन् । उनले आफुहरुलाई कुनै किसीमको अािर्थक सहयोग नचाहिएको बताउँदै आफ्नो जिवीत रहेका एक सन्तान र वुुहारीलाई जागीर लगाईदिए आफ्नो बुढेसकाल सुखसंग कटने अपेक्षा गरिन् ।

के भन्छन मुख्यमन्त्री ?

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग मधेस आन्दोलनमा सहीद भएकाहरुको परिवारलाई घोषणा गरिए अनुरुप ५० लाख किन दिनुभएन भन्ने प्रश्न गर्दा उनले केहि कथित मिडियाले ५० लाख दिने भन्ने हल्ला फिजाएको प्रतिक्रिया दिए । २०६३ सालयता मनाइँदै आएको बलिदानी दिवस प्रदेश सरकारले यस वर्ष सप्तरीको राजविराजमा विशेष समारोहको आयोजना गरेर मनाएको छ । बलिदानी दिवसको क्रममा मधेसका ५८ जना शहिद परिवारलाई प्रदेश सरकारले ३÷३ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ ।

मधेस आन्दोलनमा शहादत प्राप्त गरेका सहीदहरुको सम्झनामा पहिलोपटक सिरहाको लहानमा, दोस्रोपटक पर्साको वीरगञ्जमा र तेस्रोपटक धनुषाको जनकपुरधाममा बलिदानी दिवस मनाएको मधेस सरकारले यसपटक भने सप्तरीको सदरमुकाम राजविराजमा मनाएको छ ।

बलिदानी दिवसको अवसरमा सहिद परिवारहरुलाई जनही ३ लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए । उनले सहिद परिवारलाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले सो रकम प्रदान गरिएको जानकारी दिए ।

मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुलाई पनि आर्थिक सहयोग उपलब्ध गराइएको मन्त्री साहले बताए । उनले घाइतेको अवस्था हेरी २५ हजारदेखि ३ लाखसम्म रकम प्रदान गरिएको जानकारी दिए ।

११७ जनाको शहादत

मधेस आन्दोलनको क्रममा ११७ जना सहीद भएको तथ्यांक छ । जसअन्र्तगत २०६३/०६४ मा ५४ जना, २०७२/०७३ मा ५६ जना, २०७३ मा ५ जना (सप्तरी) र २०७४ मा २ जनाले शहादत प्राप्त गरेका छन् ।

२०६३ सालको मधेस विद्रोहको क्रममा जनकपुरधाममा मात्रै जनकपुरधाम उपमहानगरपालिका–१४ का कारी ठाकुर, गणेशमान चारनाथ नगरपालिकाका ब्रम्हदेव ठाकुर, जनकपुरधाम–४ का राजेश ठाकुर र धनुषाधाम नगरपालिकाका बाबु नारायण यादवले शहादत दिएका छन् भने २०७२ सालको मधेस विद्रोहको क्रममा लक्ष्मीनिया गाउँपालिका–१ अरेरवाका दिलिप यादव, जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनियाका नितु यादव र क्षिरेश्वरनाथ नगरपालिकाका संजय चौधरीले शहादत प्राप्त गरेका थिए ।