काठमाडौं, ४ माघ । कोरोनाविरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम मंगलबार पनि जारी रहेको छ ।

सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्रमार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएकोमा मंगलबार पनि खोप लगाउने कार्यक्रम जारी रहेको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिइएको छ ।

उपत्यकाका विभिन्न खोप केन्द्रहरु सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगंज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट बुस्टर खोप लगाउने कार्यक्रम जारी राखिएको छ ।

त्यस्तै छाउनी, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँ बानेश्वर, पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल सामाखुसी, काठमाडौं मोडल अस्पताल, एपेक्स पोलिक्लिनिक जडिबुटी, काठमाडौं मोडल अस्पताल, प्रर्दशनीमार्ग, जनमैत्री अस्पताल बालाजु, शुभेच्छा अस्पताल थापाथली, नर्भिक अस्पताल थापाथली र नोबेल अस्पताल सिनामंगलबाट पनि खोप दिइराखिएको छ ।

खोप केन्द्रहरूमा खोप लगाउनेको भीड रहेको छ । सिंहदरबारमा कर्मचारीका लागि सीसीएमसीको कार्यालय परिसरमा खोप दिने व्यवस्था मिलाइएको छ । सीसीएमसीको कार्यालय परिसरमा मंगलबार पनि बिहानदेखि खोप लगाउनेको घुइँचो लागेको छ ।