काठमाडौं, ४ माघ । कोरोना संक्रमण रोकथाम गर्न काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी आदेश जारी गरिएको छ ।

संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउनसम्बन्धी आदेश जारी गरेका हुन् ।

मन्त्रिपरिषद्को आदेशलाई कार्यान्वयन गर्ने निर्णय तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गरेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्मार्ट लकडाउन गर्ने अधिकार प्रजिअलाई दिएको छ ।

जारी भएको आदेश मंगलबार मध्यरातबाट लागू हुनेछ । आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, भेला संचालन नगर्ने, माघ १५ गतेसम्म विद्यालय, फिल्म हलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्ने उल्लेख छ ।

उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थना बाहेकका सबै पूजामा रोक लगाइएको छ । मन्दिर दर्शन र पूजाआजामा आजदेखि अस्थायी रोक लगाइएको छ । कोरोनाको लक्षण देखिए पाँच दिन क्वारेन्टाइनमा बस्नसमेत आग्रह गरिएको छ ।