काठमाडौं, ४ माघ । सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिस्ट्रारसहित ३१ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

न्यायाधीशसहितका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सर्वोच्च अदालतबाट प्रदान गरिने सेवामा कटौती गरिएको हो ।

मंगलबार बसेको फुलकोर्टले संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको भन्दै ६ प्रकारका सेवामात्र दिने निर्णय गरिएको छ ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दुई हप्तासम्म निश्चित सेवामात्र प्रदान गर्ने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

बन्दीप्रत्यक्षीकरण तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको नियमित सुनुवाइ, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही, फौजदारी मुद्दाका थुनुवाका निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ, हेर्दाहेर्दै र नि.सु. मा रहेका मुद्दाको सुनुवाइ, नेपाल सरकारका तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने निर्णय भएको सर्वोच्चका प्रवक्ता दाहालले जानकारी दिए ।