मधेश प्रदेशमा भोली पनि सार्वजनिक बिदा

जनकपुरधाम, ४ माघ । मधेश प्रदेश सरकारले प्रदेशमा मंगलवार र बुधवार सार्वजनिक बिदा दिएको छ ।
सोमवार प्रदेशसभामा मतदानद्वारा प्रदेशको नाम र स्थायी राजधानी आएपछि आज र भोली बलिदानी दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।
दुइतिहाई बढि मतद्वारा स्थायी राजधानी जनकपुरधाम र प्रदेशको नाम मधेश प्रदेश कायम भएकोले आज बिदा दिइएको हो । त्यस्तै, भोली माघ ५ गते बलिदानी दिवस भएकोले बिदा रहेको छ ।
मधेश आन्दोलनमा शहादत प्राप्त गरेका सहिदहरुको सम्झनामा पहिलोपटक सिरहाको लहानमा, दोस्रोपटक पर्साको वीरगञ्जमा र तेस्रोपटक धनुषाको जनकपुरधाममा बलिदानी दिवस मनाएको मधेश सरकारले यसपटक भने सप्तरीको सदरमुकाम राजविराजमा मनाउन लागेको छ ।
मधेश आन्दोलनमा शहादत प्राप्त गरेका सहिद परिवारलाई सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
भोली मनाइने बलिदानी दिवसको अवसरमा सहिद परिवारहरुलाई जनही ३ लाखका दरले आर्थिक सहायता उपलब्ध गराइने अर्थमन्त्री साहले जानकारी दिए ।
विभिन्न समयमा भएका मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका ५७ जनाको परिवारलाई मधेसी सहिद प्रतिष्ठानको सिफारिसबमोजिम सरकारले जनही ३ लाखका दरले आर्थिक सहयोग प्रदान गर्ने मन्त्री साहले बताए ।
उनले सहिद परिवारलाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले सो रकम प्रदान गर्न लागिएको जानकारी दिए ।
मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुलाई पनि आर्थिक सहयोग उपलब्ध गराइने मन्त्री साहले बताए । उनले घाइतेको अवस्था हेरी २५ हजारदेखि ३ लाखसम्म रकम प्रदान गरिने जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


