काँग्रेस, नेकपा एस र एमाले आफैंले दर्ता गराएको प्रस्तावको पक्षमा मतदान गरेनन्

जनकपुरधाम, ३ माघ । प्रदेश २ को नाम ‘मधेश प्रदेश’ दुई तिहाई भन्दा बढि मतले पारित भएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम मधेश प्रदेश राख्ने प्रस्ताव बहुमतका साथ पारित गरेको हो ।
नामकरणका लागि भएको मतदानमा ९९ सांसद सहभागी भएकोमध्ये ८० जनाले मधेशको पक्षमा मतदान गरेका थिए ।
सत्तारुढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षि दल लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए ।
शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह प्रस्तावक रहेको नाम मधेश प्रदेश कायम गर्न मतदान गरिएको थियो ।
जसपाका ३९, माओवादी केन्द्रका ८ र लोसपाका १६ गरी ६३ जना सांसद मधेश प्रदेशको पक्षमा थिए । १ जना सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसैमा समर्थन जनाएको थियो ।
प्रदेशको नामकरण र राजधानीका लागि सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठित विशेष समितिले सहमति जुटाउन नसकेपछि मतदानमा जाने निष्कर्ष निकालिएको थियो । विशेष समितिले ६ बुँदे निष्कर्षसहित आइतबारको प्रदेशसभा बैठकमा प्रतिवेदन पेस गरेको थियो ।
समितिले राजधानीका लागि ३ र नामकरणका लागि ४ वटा प्रस्ताव राखेर बाँकी प्रस्ताव खारेज गरेको थियो ।
१९ जना सांसद रहेको कांग्रेसले ‘मिथिला भोजपुरा’, १३ जना सांसद रहेको नेकपा एकीकृत समाजवादी र ८ जना सांसद रहेको नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए ।
अन्य दलका १६ जना सांसदले पनि मधेशको पक्षमा मतदान गरेका छन् । यस हिसाबले अंकगणित हेर्दा काँग्रेस, नेकपा एस र एमाले आफैंले दर्ता गराएको प्रस्तावको पक्षमा मतदान नगरेको देखिएको छ ।
कुल ६४ मत मात्रै मधेशको पक्षमा देखिएको थियो जुन दुई तिहाई मतभन्दा ६ मत कम थियो । तर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एसकै केही प्रदेशसभा सदस्यहरुले मधेशको पक्षमा मतदान गरेपछि ८० मत खसेको हो ।
कांग्रेस, एमाले र नेकपा एसका प्रदेशसभा सदस्यहरुले मधेशको पक्षमा मतदान गरेपछि आफ्नै दलको प्रस्तावलाई निष्क्रिय बनाउन भूमिका खेलेका थिए । कांग्रेसले मिथिला भोजपुरा, एमाले र नेकपा एसले जानकी प्रस्ताव पेश गरेका थिए ।
स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले मधेशको पक्षमा अन्य दलका प्रदेशसभा सदस्यहरुसंग मतदान गर्न आग्रह गरेकाले यसको पक्षमा दुई तिहाई मत पुगेको हो ।
प्रदेशसभाले स्थायी राजधानी समेत जनकपुरधामलाई टुंगो लगाएको छ । सोमबार बसेको पहिलो बैठकमा भएको मतदानमा ७८ जना सांसदले राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए ।
प्रदेशमा १०४ जना सांसद रहेकोमा उपस्थित ९९ जना प्रदेश सभा सदस्य मध्ये ७८ जनाले राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए ।
प्रदेशसभा बैठकमा प्रतिनिधित्व गरेका दलहरूको तर्फबाट संयुक्त रूपमा प्रस्ताव पेश भएपछि जनकपुरधाममा मतदान प्रक्रिया सुरु भएको थियो ।
प्रदेश सांसद परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी थापा र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गरेपछि मतदान भएको थियो ।
स्थायी राजधानीका लागि जनकपुरधाम (उत्तरमा ढल्केबरस्थित पूर्व–पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमा) पहिलो प्रस्ताव राखिएको थियो ।
त्यस्तै, राजधानीकै लागि वीरगञ्ज (पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म) राख्ने पनि प्रस्तावसमेत गरिएको थियो । वीरगञ्ज महानगरपालिकालाई राजधानीको रुपमा समेत प्रस्ताव गरिएको थियो ।
यसअघि २०७६ चैत ३ मा भएको मतदानमा प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न सकिएको थिएन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


