काठमाडौं, ३ माघ । काठमाडौं प्रहरी परिसर, टेकु र अन्तर्गत कार्यरत प्रहरीमध्ये २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो एक सातामा लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार मातहतका हिरासतमा रहेका १० जना थुनुवा पनि संक्रमित भएका छन् । उनीहरुलाई कीर्तिपुरस्थित सामुदायिक आइसोलेसन सेन्टरमा राखिएको छ ।

काठमाडौं प्रहरी मातहत राजधानीमा प्रहरी नायब उपरीक्षकको कमाण्डमा १४ वटा प्रहरी वृत्त र प्रहरी निरीक्षकको नेतृत्व ९ वटा प्रभाग छन् । सई र हवल्दारको नेतृत्वमा थप २० वटा कार्यालयसहित २९ वटा युनिट राजधानीमा छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालका प्रवक्ता विष्णुकुमार केसीका अनुसार हालसम्म ६० हजार ५९७ जना प्रहरी कर्मचारीले पहिलो र ४८ हजार ४४५ जना जनाले दुवै डोज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।