जनकपुरधाम, ३ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ ।

प्रदेशमा १०४ जना सांसद रहेकोमा उपस्थित ९९ जना प्रदेश सभा सदस्य मध्ये ७८ जनाले राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए ।

स्थायी राजधानीका लागि ७० मत आवश्यक थियो । प्रदेशसभा बैठकमा प्रतिनिधित्व गरेका दलहरूको तर्फबाट संयुक्त रूपमा प्रस्ताव पेश भएपछि जनकपुरधाममा मतदान प्रक्रिया सुरु भएको थियो ।

प्रदेश सांसद परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी थापा र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गरेपछि मतदान भएको हो ।

जनकपुरधाम स्थायी राजधानी भएसँगै राजधानी सम्बन्धी अन्य प्रस्ताव स्वत: खारेज भएको सभामुख यादवले जनाए ।